आइतबार १७ चैत, २०८१

दक्षिण कोरियामा डढेलो : १८ जनाको मृत्यु, २७ हजार विस्थापित

दक्षिण कोरियामा डढेलो : १८ जनाको मृत्यु, २७ हजार विस्थापित

सियोल । दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ । अधिकारीहरूका अनुसार आगलागीले १८ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएका छन् । आगलागीबाट २७ हजार मानिसलाई विस्थापित हुन बाध्य पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक दक्षिणपूर्वी उइसेङ जङ्गलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । कोरिया वन सेवाले उद्धार कार्य जारी रहेको र विमानमा एक पाइलट मात्र थिए भन्ने अनुमान गरेको छ ।

एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारी साधनहरूलगायत संरचनाहरू नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको र १९ जना घाइते भएको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।

करिब चार हजार छ सय ५० अग्नि नियन्त्रक, सैनिक र अन्य कर्मचारीहरूले करिब एक सय ३० हेलिकप्टरको सहयोगमा डढेलो निभाउन काम गरिरहेको समाचारमा उल्लेख छ । उनले बिहीबार केही मात्रामा ५–१० मिलिमिटर पानी पर्ने अपेक्षा गरिएको बताए ।

पर्यवेक्षकहरूका अनुसार जारी डढेलो दक्षिण कोरियामा जमिन जलेको सन्दर्भमा तेस्रो ठूलो हो । 

अग्नि नियन्त्रकहरूले सुक्खा बतासका कारण आगलागी नियन्त्रण गर्न सङ्घर्ष गरिरहेकाले धेरै दक्षिणपूर्वी सहर र सहरका अधिकारीहरूले मङ्गलबार बासिन्दाहरूलाई खाली गर्न आदेश दिएका थिए । दक्षिण कोरियाको गृह मन्त्रालयका अनुसार सबैभन्दा ठूलो आगलागी अन्डोङ, छिमेकी र उइसेङ र सान्चेओङ काउन्टी तथा उल्सान सहरमा भएको थियो ।

यसअघि मङ्गलबार अधिकारीहरूले ती क्षेत्रमा सबैभन्दा ठूलो डढेलोमध्ये अधिकांश निभाएको तर हावा र सुक्खा अवस्थाले आगो फेरि फैलिएको बताएका थिए । तर हावा बढेपछि आगो निभाउने प्रयासहरू रातारात आंशिक रूपमा स्थगित गरियो ।

उइसेङमा आगलागीले गाउन्सा मन्दिरका ३० भन्दा बढी संरचनामध्ये करिब आधा नष्ट गरेको छ । यी संरचना मूल रूपमा सातौँ शताब्दीमा निर्माण गरिएको थियो । नष्ट भएका संरचनामध्ये दुई राज्य–निर्दिष्ट ‘खजाना’ –सन् १६६८ मा बनेको खोलामा बनाइएको मण्डप–आकारको संरचना र सन् १९०४ मा राजाको दीर्घायुको अभिव्यक्तिका लागि निर्माण गरिएको जोसेओन राजवंशको संरचना थिए । 

सरकारी र बौद्ध अधिकारीहरूका अनुसार मन्दिरको अर्को राज्य–निर्दिष्ट ‘खजाना’ आठौँ शताब्दीमा निर्मित ढुङ्गाको बुद्ध मूर्तिलाई सुरक्षित स्थानमा सारिएको थियो ।

कोरिया वन सेवाले मङ्गलबार राष्ट्रव्यापी रूपमा डढेलोको चेतावनी उच्च ‘गम्भीर’ स्तरमा बढाएको छ । यसले स्थानीय सरकारहरूलाई आपत्कालीन प्रतिक्रियामा थप कामदारहरू नियुक्त गर्न, वन र पार्कहरूका लागि प्रवेश प्रतिबन्धहरू कडा गर्न र सैन्य एकाइहरूलाई प्रत्यक्ष–आगो अभ्यास रोक्न सिफारिस गर्न आवश्यक परेको छ । रासस