शुक्रबार २९ चैत, २०८१

हङकङमा टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ

हङकङमा टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ। हङकङमा सुरु हुने टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहित पौडेलले तयारी राम्रो भइरहेको उल्लेख गर्दै सक्दो राम्रो खेलेर जितेर फर्कने बताए । ‘अहिले टिमको रूपमा निकै सन्तुलित छ जस्तो लाग्छ, केहीले कम ब्याक पनि गर्नुभएको छ, विश्वकपका लागि राम्रो तयारी हुन्छ, राम्रो खेल्ने छौँ,’ रोहितले भने

त्यस्तै यस शृङ्खलाका लागि नेपालको प्रशिक्षक रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अभ्यास राम्रो भएको र आगामी महत्त्वपूर्ण खेलका लागि राम्रो तयारी हुने बताएका छन् ।

आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी हुने यस प्रतियोगितामा सबै टोलीले एकअर्कासँग १-१ खेल खेलेपछि चार टिममध्ये शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

यस शृङ्खलाका लागि कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको छ जसमा केही खेलाडीले पुनरागमन पनि गरेका छन् ।