सोमबार ०८ बैशाख, २०८२

ठूलो आश बोकेर आएका नेतान्याहुलाई ट्रम्पले दिएको झट्का

ठूलो आश बोकेर आएका नेतान्याहुलाई ट्रम्पले दिएको झट्का

काठमाडौं । आफ्नो मुख्य सहयोगीमध्येको अमेरिका जाँदै गर्दा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु निकै आशावादी थिए- राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको गुनासोको सम्बोधन गर्नेछन् । तर, परिस्थिति त्यसरी विकास भएन जसरी नेतान्याहुले चाहेका थिए ।

नेतान्याहुमाथि अन्तर्राष्ट्रिय समुदायको मात्र होइन घरेलु दबाब पनि छ । यस्तो अवस्थामा भएको उनको अमेरिका भ्रमणलाई धेरैले महत्त्वका साथ हेरेका छन् ।

आफ्नो सुरक्षा संवेदनशीलताका बाबजुद ४०० किलोमिटरभन्दा लामो उडान भरेर हंगेरी हुँदै ह्वाइट हाउस पुग्दा ट्रम्पसँग उनका केही खास अपेक्षा थिए ।

गाजामा भएको नरसंहारलाई लिएर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले उनलाई पक्राउ पुर्जी जारी गरेको छ । उक्त पक्राउ पुर्जी जारी हुँदै गर्दा अमेरिकाले अस्वीकार गरे पनि युरोपेली संघले भने त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।

जसका कारण उनीमाथि गिरफ्तारीको खतरा नभएको होइन । खासगरी ती देश जहाँ आईसीसीको नियम कार्यान्वयन हुन्छ । अथवा यो प्रकरणमा ती देशले समर्थन जनाएका छन् । नेतान्याहु ती देशका हवाई क्षेत्र छल्दै वासिङ्टन पुगे ।

नेतान्याहुको अमेरिका यात्राको एउटा प्रमुख उद्देश्य थियो- आफ्नो देशमाथि ट्रम्प नेतृत्वको अमेरिकाले लागाएको कर हटाउनु । तर, ट्रम्पले यसलाई अस्वीकार गरिदिएका छन् । इजरायली सामानमा अमेरिकाले १७ प्रतिशत कर लगाएको छ ।

नेतान्याहु अमेरिकाले विभिन्न देशहरूलाई कर लगाएपछि ट्रम्पलाई भेट्ने पहिलो अन्तर्राष्ट्रिय नेता हुन् । हङ्गेरीबाट सिधै वासिङ्टन पुगेका नेतान्याहुको भ्रमणको मुख्य उद्देश्य ट्रम्पलाई इजरायलमाथि लगाइएको करसम्बन्धी निर्णय उल्ट्याउन वा इजरायली आयातमा लगाइने १७ प्रतिशत करलाई कम गर्न राजी गराउनु थियो ।

यो कति महत्त्वको थियो भन्ने बुझ्न बुडापेस्ट छोड्नुअघि नेतान्याहुले दिएको एक प्रतिक्रियाले पनि देखाउँछ । उनले आफ्नो वार्तामा ‘इजरायलमाथि लगाइएको कर प्रणाली’ लगायत विभिन्न विषयमा छलफल हुने बताएका थिए । 'म पहिलो विदेशी नेता हुँ जसले राष्ट्रपति ट्रम्पसँग अमेरिकी करनीति र इजरायलको अर्थतन्त्रका विषयमा भेट्नेछु,' उनले भने ।