नयाँ शिक्षा ऐन जारी नगरेर सरकारले शिक्षा क्षेत्रलाई थप संकटमा धकेलेको शिक्षकहरूको आरोप

काठमाडौं । नयाँ शिक्षा ऐन तत्काल जारी नगरे सरकारले शिक्षा क्षेत्र नै धरासायी हुने भन्दै आन्दोलनरत शिक्षकहरूले काठमाडौंमा सरकारलाई तीव्र दबाब दिइरहेका छन्।
धनकुटाबाट आन्दोलनमा सहभागी शिक्षक बिनोद प्रसाद सुबेदीले शिक्षा ऐन जारी गराउन शिक्षकहरू सडकमा उत्रिनु लज्जास्पद भएको बताए।
उनले भने, 'शिक्षा ऐन ल्याउनु सरकारको अनिवार्य कार्य हो। तर शिक्षकहरूलाई सडकमा उतारेर ऐन माग्नुपर्ने अवस्था आउनु सरकारको नैतिक असफलता हो ।'
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ऐन जारी नगरी शिक्षकहरूलाई विद्यालय फर्कन बाध्य पार्ने प्रयास गरेकोमा चेतावनी दिँदै सम्पूर्ण समस्याको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे।
शिक्षक सुबेदीका अनुसार, पञ्चायती व्यवस्था अनुरूप २०२८ सालमा बनेको पुरानो ऐनले आजको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित शिक्षा दिन सक्दैन। उनले थपे, 'उखान टुक्काले सैक्षिक सुधार हुदैन। सुधार गर्न नयाँ शिक्षा ऐन अनिवार्य छ। '
उनले शिक्षक, विद्यार्थी, अभिभावक र सम्पूर्ण सैक्षिक प्रणालीको हितका लागि विश्व परिवेश सुहाउँदो नीति निर्माण आवश्यक भएको उल्लेख गर्दै, यदि सरकार अग्रगामी शिक्षा ऐन तत्काल ल्याउन असमर्थ छ भने प्रधानमन्त्रीले नैतिक जिम्मेवारी बहन गर्दै राजीनामा दिनुपर्ने माग गरे।
शिक्षकहरूले काठमाडौंमा चरणबद्ध आन्दोलन गर्दै सरकारलाई शिक्षा ऐन जारी गर्न अन्तिम चेतावनी दिइसकेका छन्। अब पनि सरकार गम्भीर नभए शिक्षा क्षेत्र अपूरणीय क्षतिमा पुग्ने भन्दै आन्दोलन झनै चर्किने संकेत समेत दिएका छन्।