धनकुटा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो
भोजपुर- धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
धनकुटा नगरपालिका- ६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो ।
घटनामा परी सख्त घाइते धनकुटा नगरपालिका- ६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने चालक सुनसरीको धरान उपमहानगरपालिका- १३ का ५१ वर्षीय रुद्र तामाङको पनि सोमबार बेलुका मृत्यु भएको थियो ।
उपचारकै क्रममा रहनुभएका भोजपुर षडानन्द नगरपालिका- १३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको आज बिहान मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ बजे श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अन्य घाइतेमध्ये दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी १४ जना घाइते भएका थिए । जसमा गम्भीर घाइतेमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।
बस दुर्घटनामा घाइते हुनेमा षडानन्द नगरपालिका- १३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका- २ का कृष्ण राउत, भोजपुर पौवादुङमा गाउँपालिका- ३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका- ११ का सविना बराइली, सोही ठाउँका देवी विक, धनकुटा साँगुरीगढी गाउँपालिका- ६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका- ११ की पूर्णमाया तामाङ, धनकुटा साँगुरीगढी गाउँपालिका- ६ की दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा- ६ का धनकुमार बिक रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
