भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्छ : गौतम
काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गरे।
उनले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औँल्याए। संविधान संशोधन, संघीययताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उनले जोड दिए।
सांसद गौतमले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली जनावारको त्रास बढिरहेको, पछिल्लो तीन महिनामा बर्दियामा चितुवाको आतंकबाट दुई जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका भन्दै जंगली जनावरबाट नागरिकलाई सुरक्षित गर्नेगरी वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
