‘सगरमाथा संवाद’ कार्यक्रमको प्रभावकारिता माथि सांसद साहकाे आशंका
काठमाडौं । ‘सगरमाथा संवाद’ कार्यक्रमको प्रभावकारिता माथि आशंका गर्दै यो विषय संसद्मा उठेको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले सगरमाथा संवाद कार्यक्रमको प्रभावकारिता माथि आशंका गरेका हुन् ।
कुनै पनि देशको राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित भएकाले सगरमाथा सम्वाद कार्यक्रमको गरिमामाथि नै प्रश्न उठेको उनले बताए ।
विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिए पनि हाम्रै छिमेकी भारत र चीनबाट समेत उच्चस्तरको सहभागिता नहुने देखिएको बताउँदै उनले त्यसलाई छोट्याउन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिएको यस कार्यक्रममा अहिलेसम्म कुनै देशको राष्ट्रप्रमुख वा सरकारप्रमुख वा विदेशमन्त्री कुनै पनि देशको उच्चस्तरीय सहभागिता देखिएको छैन्,’ साहले भने ।
यो कार्यक्रम मानव जातिको भविष्य सुनिश्चितता, यो पृथ्वीको भविष्य सुनिश्चितताको लागि र जलवायु परिवर्तनबाट हुने जोखिमबाट न्यूनीकरण गर्न एउटा महान उद्देश्यबाट गरिए भन्दै उनले सम्बन्धित सरोकारवाला देशलाई पनि यो विषयमा बुझाउन सक्नुपर्ने बताए ।
‘तर आज हामी हेरिरहेका छौं ती देशबाट सहभागिताको सुनिश्चितताको कुरा छैन । समुन्द्रपारिको त कुरा छोडिदिनुहोस, हाम्रो छिमेकी देशको पनि उच्चस्तरको सहभागिता छैन् । न त भारतको उच्चस्तरको सहभागिता देखिन्छ, न त चीनकै देखिन्छ । यतिसम्म कि संयुक्त राष्ट्रसंघका महासचिवको समेत उपस्थिति नहुने भएका छन्,’ उनले भने ।
सगरमाथा सम्वाद कार्यक्रममा तीन सय जना सहभागिता हुने भनिएकोमा अहिले एक सय ५० जना सहभागिता हुने भन्ने सुनिएको उनले बताए ।
