‘मेरो नछुटोस’ है भनेर अर्थमन्त्रीसँग कानेखुसी गर्नुपर्ने अवस्था छ : डा.स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्र निर्माणको मुल उद्देश्यबाट राजनीतिक दलहरू च्युत हुँदै गएको आरोप लगाएका छन् ।
प्रतनिधि सभाको शुक्रबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले यस्तो आरोप लगाएका हुन् । राजनीतिक दलहरूले मुलुकको विकासमा केन्द्रित हुनुभन्दा निर्वाचमुखी राजनीति गर्दा मुलुकमा समस्यामा सिर्जना भएको वाग्लेले बताए ।
‘हामी राष्ट्र निर्माणको विराट उद्देश्यबाट अलिअलि च्यूत हुँदै निर्वाचनमुखी राजनीतितिर गयौं । त्यही भएर अहिले लुछाचुँडी छ,’ वाग्लेले भने, ‘अर्थमन्त्रीज्यू यहाँ बस्नुभयो चार दिन । मैले देखिरहेको छु सबै सांसदहरूले एकैछिन भएपनि कानेखुसी गर्नुपर्नेछ– मेरो चाहीँ नछुटोस् है हजुर भनेर । त्यसैले यो भोट बैंकको राजनीति, टुक्रे आयोजनाको राजनीति लगायतमा राज्य प्रणालीकै दोष भयो ।’
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जान सकेको खण्डमा निर्वाचनमुखी राजनीतिको अन्त्य गर्न सकिने उनको भनाइ थियो ।
‘त्यसकारण प्रत्यक्ष कार्यकारीतिर गयौं भने चाहीँ यो समस्या भत्किन्छ जस्तो मलाई लाग्छ । दोस्रो प्रणालीगत ओभरलोड हुन थाल्यो । एजेण्डा थप गर्ने तर तद्अनुरुप क्षमतामा हामीले अभिवृद्धि गर्न सकेका छैनौँ,’ उनले भने ।
