आइतबार ०३ फागुन, २०८२

धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र

धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र

धादिङ। थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेर यातायात ठप्प भएपछि यात्रु अलपत्रमा परेका छन् ।

पुलमा भ्वाङ परेर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गन्तव्यतर्फ हिँडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका हुन् । बाटो अवरुद्ध भएपछि केही यात्रुहरु भने आफ्ना झोला बोकेर गन्तव्यतर्फ लम्किँदै अगाडि बढ्न थालेका छन् ।

पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि वारितर्फका गाडी वारि नै र पारीतर्फका सवारीहरु पारी नै छन् । जसकारण हिँडेर पुल क्रस गरेर केही यात्रुहरु भने पारि तर्फका गाडी चढेर गन्तव्यमा जाने तरखरमा अघि बढेका छन् ।

पुलमा क्षति भएर आवगमन पूर्ण रुपमा रोकिएकाले डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले डोजर डाइभर्सनको काम सुरु गरिरहेको छ । अझै बैकल्पिक बाटो बन्न कति समय लाग्छ भन्ने यकिन भइनसकेको उनी बताउँछन् ।

सोताङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ ।

पुरानो पुल चर्केको र साइडमा भ्वाङ समेत परेकाले अहिले सवारी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम सुरु गरिएको एसपी सुवेदीले बताए ।