बिहीबार २९ माघ, २०८२

पर्यटक चढ्ने गाडीमा अवरोध नगर्न पर्यटन व्यवसायीको माग

पर्यटक चढ्ने गाडीमा अवरोध नगर्न पर्यटन व्यवसायीको माग

काठमाडौं । पोखरा पर्यटन परिषद्‍ले पर्यटक चढ्ने सवारीसाधनमा भएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपालको पर्यटनको राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारीसाधनहरू सञ्चालनको क्रममा भएको अवरोधप्रति पोखरा पर्यटन परिषद्‍को गम्भीर ध्यानाकर्षण भएको छ,’ पोखरा पर्यटन परिषद्‍का अध्यक्ष तारानाथ पहारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पर्यटक चढ्ने सवारीसाधनमा अवरोध हुँदा गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा प्रतिकूल असर पार्नुका साथै आन्तरिक तथा वाह्य पर्यटकहरूमा नकरात्मक सन्देश प्रवाह हुने खतरा बढ्ने परिषद्‍ले जनाएको छ ।

पर्यटन क्षेत्र नेपालको समृद्धिको मुख्य आधार मध्ये एक भएको भन्दै परिषद्‍ले यसलाई व्यवस्थित एवं सुरक्षित बनाउनु सरोकारवालाको साझा दायित्व भएको बताएको छ ।

बन्द नै समस्याको समाधान नभएको भन्दै पर्यटन व्यवसायीहरूले विगतमा सबै बन्द हडतालमा पनि निर्वाध सञ्चालन भएका पर्यटक सवारीसाधनलाई निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सार्वजनिक यातायात बचाऊँ संघर्ष समितिसँग माग गरेका छन् ।

शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माण गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत परिषद्‍ले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पोखरामा अलपत्र परेका पर्यटकलाई आइतबार स्कर्टिङमार्फत् गन्तव्यतर्फ पठाउन सहजीकरण गरेको छ ।