कमल थापासहित पक्राउ परेका ७ जनाको स्वास्थ्य परीक्षण गराइयो
काठमाडौं । राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, उनीहरू सात जनाकै वीर अस्पतालमा स्वास्थ्य परीक्षण सकाएर अहिले भद्रकाली परिसरमा ल्याइएको छ ।
म्याद थप गर्ने वा छाड्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भइनसकेको उनले बताए ।
राजावादीको प्रदर्शनका क्रममा आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। सो क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरी नियन्त्रणमा लिइएकाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा छन् ।
उनीहरू सबैलाई नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी बोहराले बताए ।
उनका अनुसार उनीहरू नारायणचौरबाट निषेधित क्षेत्र तोडेर बालुवाटार प्रवेश गर्ने भन्दै अघि बढेका थिए ।
सोही क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिनेक्रममा झडप समेत भएको थियो । उनीहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । उनीहरूका अनुसार यो प्रदर्शन अनिश्चित समयसम्म हुने बताइएको छ ।
राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।
