राजु पाण्डेको निलम्बनपछि महानगरमा मुठभेडको त्रास, खटाइयो प्रहरी
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बनपछि तनाव हुनसक्ने आकलन गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको टोली खटाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले सुरक्षाका लागि भने प्रहरीको टोली खटाइएको बताए ।
‘अहिलेसम्म केही पनि भएको छैन । कुनै तनाव हुनसक्ने आकलन गरेर मात्रै प्रहरीको टोली पठाएका हौं,’ एसपी बोहराले भने ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
त्यसपछि निमित्त प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ । यस्तो अवस्थामा महानगरमा केही सुरक्षा चुनौती हुनसक्ने भन्दै प्रहरीको टोली खटाइएको हो ।
