बिहीबार २१ फागुन, २०८२

नेपाली महिला घरेलु कामदारमा खाडी मुलुक जाने क्रम रोकिएन

नेपाली महिला घरेलु कामदारमा खाडी मुलुक जाने क्रम रोकिएन

काठमाडौं । नेपालबाट घरेलु कामदारको रुपमा महिला खाडी मुलुक जाने क्रम नरोकिएको पाइएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार कुवेतमा मात्रै ४८ हजार नेपाली महिला कामदार रहेका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले यस्तो जानकारी दिएकी हुन् ।

परराष्ट्रमन्त्री राणाका अनुसार जापान भ्रमणका क्रममा खाडी मुलुकको राजदूतहरूसँग उनले भर्चुअल छलफल गरेकी थिइन् । त्यसबेला खाडी मुलुकका राजदूतहरूले पनि इलिगल रूपमा महिला कामदार खाडी मुलुक जानेक्रम नरोकिँदा समस्या रहेको बताएका थिए ।

‘महिला घरेलु कामदार नपठाउने भनेर रोक लगाएको तर, इलिगल रूपमा त्यहाँ पुग्नुभएको छ,’ उनले भनिन् । इलिगल जानेहरू समस्यामा रहेको उनले बताइन् ।

‘कुवेलमा मात्रै ४८ हजार नेपाली महिला घरेलु कामदार छ्न् । उहाँहरूलाई लिगल दायरामा नल्याउँदा झनै गाह्रो छ,’ उनी थप्छिन्, ‘पहिला लिगल भएर जानुभएको सुरक्षित हुनुहुन्छ । अहिले इलिगल जाँदा एकदमै गाह्रो छ ।’