सोमबार २६ माघ, २०८२

विश्व बैंक समूहबाट साढे ५० अर्ब ऋण लिँदै सरकार

विश्व बैंक समूहबाट साढे ५० अर्ब ऋण लिँदै सरकार

काठमाडौं । सरकारले विश्व बैंक समूहबाट साढे ५० अर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट २० अर्ब ७९ करोड र विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट २९ अर्ब ७२ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

२० अर्ब ७९ करोड रुपैयाँ पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि खर्च गरिने निर्णयमा उल्लेख छ ।

त्यस्तै अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने २९ अर्ब ७२ करोड रुपैयाँ भने रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनामा खर्च हुने भएको छ ।

बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि १ अर्ब ८ करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।