सोमबार २२ मंसिर, २०८२

मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन

मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन

जनकपुरधाम । बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले ६ सदस्य कार्यदल गठन भएको छ ।

सभामुख रामचन्द्र मण्डलको नेतृत्व भएको गठन प्रतिपक्ष, सत्ता पक्ष र सरकारका मन्त्री रहने गरी कार्यदल गठन भएको हो ।

जसमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल छन् ।

यस्तै सत्ता पक्षबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव छन् ।

सदनमा यस विषयमा सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका छन् ।

तर, सरकारका मन्त्री समेत कार्यदलमा रहेको भन्दै प्रमुख प्रतिपक्षी दल जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रश्न उठाएका छन् ।

उनले कार्यदलमा सरकारका मन्त्री सहभागी गराउन नहुने बताए ।

तर मुख्यमन्त्री सतिशकुमार सिंहले सर्वदलीय बैठकमा भएको सहमति अनुसार नै कार्यदल गठन भएको जवाफ दिएका छन् ।

सहमति अनुसार भएको कार्यदल गठनबारेमा अहिले टिकाटिप्पणी गर्नु उचित नहुने उनको तर्क छ ।

यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि सदन बैठक स्थगित गरेका छन् ।

विपक्षी दलहरूले नियमित चार दिनदेखि बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।