‘नाइमा २०२५’ मा सार्वजनिक हुँदै ‘फोर्थिङ’ को पहिलो मोडेल
काठमाडौं । लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक सवारी ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
कम्पनीले २१ देखि २५ साउनसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) को राष्ट्रिय अटो प्रदर्शनी ‘नाइमा २०२५’ मा फोर्थिङको पहिलो मोडेल सार्वजनिक गर्ने घोषणा गरेको हो ।
विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीसँग आफ्नो सुरुवात गरेको जनाएको छ ।
कम्पनीका अनुसार यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइन समेट्दै नेपाली ग्राहकको बदलिँदो आवश्यकता परिपूर्ति गर्ने छ ।
यो एसयूभीमा ६४.४ किलोवाट आवर ब्याट्री, ९९ किलोवाटको मोटर जडान गरिएको छ । त्यसकारण पनि यस एसयूभीले ४ सय किलोमिटरभन्दा बढीको दुरी तय गर्न सक्ने जनाइएको छ । सहरभित्रको यात्रादेखि लामो दुरीका लागि समेत उपयुक्त यो गाडी सबैको विकल्प बन्न सक्ने कम्पनीको भनाइ छ ।
पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले सहज र छरितो ड्राइभिङ अनुभव दिने र भित्री डिजाइनमा पनि आराम, प्रयोग सहजता र स्मार्ट प्रविधिलाई विशेष ध्यान दिइएको छ ।
‘फोर्थिङ केवल गाडी होइन, यो त भविष्यको मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण हो,’ लक्ष्मी ई–मोबिलिटीले भनेको छ, ‘हामी नेपाली उपभोक्तालाई विश्वस्तरीय इलेक्ट्रिक प्रविधिमा पहुँच दिने लक्ष्यसहित फोर्थिङको ब्रान्ड ल्याउँदै छौं, त्यो पनि लक्ष्मीको विश्वासिलो इतिहासका साथ ।’
देशको अटोमोबाइल क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको लक्ष्मी ग्रुपले विगतका दशकमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थिति विस्तार गर्दै हुन्डाई, बीएमडब्लू, काई, एसएमएल ईसुजु जस्ता विश्वविख्यात ब्रान्डमार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटोपार्ट्स वितरण गर्दै आएको छ । अब यसै यात्रामा फोर्थिङ पनि थपिन लागेको कम्पनीले जनाएको छ ।
सन् २०२४ मेमा लक्ष्मी ग्रुपले नेपालकै पहिलो फोर–ह्विलर गाडी एसेम्ब्ली प्लान्ट ‘लक्ष्मी मोटर कर्पोरेसन’ (एलएमसी) रामग्राम परासी (नवलपरासी) मा सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी ग्राहक सहजता र ईभी पूर्वाधार सुदृढ पार्न लक्ष्मी समूहले ‘रिल्याक्स’ नामक ६३ भन्दा बढी रिचार्ज नेटवर्क र रिपेयर स्टेसनको सञ्जाल देशभरि फैलाएको छ । यसले नेपालमा इलेक्ट्रिक गाडी प्रयोगलाई थप सरल र भरपर्दो बनाएको छ ।
