भारतलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यही अगस्ट १ देखि भारतबाट अमेरिका भित्रिने सबै प्रकारका सामानमा उच्च दरको आयात कर लागु गर्ने बताएका हुन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक विज्ञप्ति प्रकाशित गर्दै उक्त घोषणा गरेका हुन्। अमेरिकाले विभिन्न देशहरूसँगको व्यापार असन्तुलन सुधार गर्ने भन्दै ट्रम्पले यसअघि पनि धेरै मुलुकहरूबाट आयात हुने सामानमा कर लगाउने चेतावनी दिएका थिए। तर वार्ताका लागि समय दिँदै उनले कार्यान्वयन टारेका थिए। भारतसँग व्यापार सन्तुलन मिलाउने उद्देश्यले वार्ता पनि जारी थियो। सोही सन्दर्भमा अगस्ट १ लाई समयसीमा तोकिएको थियो। यद्यपि, वार्ता सकिनु दुई दिनअघि नै ट्रम्पले भारतमाथि आयात कर लगाउने निर्णय सार्वजनिक गरेका छन्।
अहिलेसम्म भारत र अमेरिकाबीच व्यापार सम्झौता टुंगोमा पुगेको छैन। यस्तो अवस्थामा ट्रम्पको एकतर्फी घोषणा अप्रत्याशित मानिएको छ। यस कदमले भारतका निर्यातकर्ता उद्योगहरूलाई प्रभावित पार्न सक्ने सम्भावना देखिएको छ। भारतबाट अमेरिका निर्यात हुने वस्तुहरूमा अब मूल्यवृद्धि हुने भएकाले अमेरिकी ग्राहकहरूलाई समेत असर पर्न सक्छ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले यस विषयमा प्रतिक्रिया दिँदै संयमित धारणा व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले द्विपक्षीय व्यापारको विषयमा अमेरिकी राष्ट्रपतिको भनाइलाई ध्यानमा राखेको छ। सरकारले यसको सम्भावित प्रभावहरूको अध्ययन गरिरहेको छ।’ मन्त्रालयका अनुसार, यो निर्णयले पार्ने आर्थिक, कूटनीतिक र व्यापारिक असरबारे गहिरो अध्ययन भइरहेको छ।
