नाडा अटो शो २०२५ : नेपालमै पहिलोपटक ‘फ्लाइङ ट्याक्सी’ र ‘युनिट्री रोबोट्स’ प्रदर्शनी हुने
काठमाडौं । तातोपानी क्षेत्रका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरू पार गर्दै नेपाल भित्रिएका अत्याधुनिक ‘डिपाल भख्त्इी फ्लाइङ ट्याक्सी’ र ‘युनिट्री रोबोट्स’ अब काठमाडौंमा सुरक्षित रूपमा आइपुगेका छन्।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (NADA) ले गर्वका साथ घोषणा गरेको यो नयाँ प्रविधि पहिलोपटक नेपालमा नाडा अटो शो २०२५ मार्फत सार्वजनिक प्रदर्शनमा आउनेछ।
१७औं संस्करणको अटो शो आगामी भदौ ३ देखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुँदैछ।
नाडा अटोमोबाइल्सका अनुसार, यो शो केवल मोटर प्रदर्शनी मात्र नभई नेपालले भविष्यको मोबिलिटी र प्रविधि–सम्बन्धी सम्भावनामा गरेको ठूलो कदमको जीवन्त प्रमाण हुने बताइएको छ।
“डिपाल भख्त्इी फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्सको आगमन नेपालका लागि ऐतिहासिक क्षण हो। यसले नेपाललाई प्रविधि र नवीनताको नयाँ यात्रामा अग्रसर गराउनेछ,” नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस प्रदर्शनीमार्फत दर्शकहरूले प्रत्यक्ष रूपमा फ्लाइङ ट्याक्सीको प्रदर्शन र युनिट्री रोबोट्सको क्षमता अनुभव गर्ने अवसर पाउनेछन्। आयोजकले यसलाई नेपालमै पहिलोपटक हुने भविष्यप्रतिको दृष्टि प्रस्तुत गर्ने अद्वितीय प्रदर्शनीका रूपमा व्याख्या गरेको छ।
