सोमबार २२ मंसिर, २०८२

अष्ट्रेलियामा ४६ वर्षपछि ब्युँताइँदै मृत्यु कर, सम्पत्ति पाउने उत्तराधिकारीले तिर्नुपर्ने !

अष्ट्रेलियामा ४६ वर्षपछि ब्युँताइँदै मृत्यु कर, सम्पत्ति पाउने उत्तराधिकारीले तिर्नुपर्ने !

काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि हटाइएको ‘डेथ ट्याक्स’ पुनः लागू गर्ने तयारी अघि बढाएको छ। विशेषज्ञहरूका अनुसार यस्तो कदमले देशभित्रको आर्थिक असमानता घटाउन योगदान पुर्‍याउनेछ।

तर, यसको विपक्षमा आवाजहरू पनि उठिरहेका छन्। आलोचकहरूको भनाइमा यस्तो करले व्यवसाय छोडेका वा सानो ठूलो सम्पत्ति बाँडेका परिवारलाई गम्भीर असर पुर्‍याउन सक्छ।

‘डेथ ट्याक्स’ अर्थात् मृत्यु कर भनेको मृतक व्यक्तिको सम्पत्तिमा लगाइने केन्द्रीय वा प्रादेशिक कर हो, जसको भुक्तानी सम्पत्ति प्राप्त गर्ने उत्तराधिकारीले गर्नुपर्छ। अष्ट्रेलियामा यो कर १९७९ मा पूर्ण रूपमा खारेज गरिएको थियो। तर अहिले फेरि यसलाई पुनः ल्याउनुपर्ने माग बढेको छ।

अष्ट्रेलियाले यसमार्फत ठूलो राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। अष्ट्रेलिया इन्स्टिच्युटको रिपोर्टअनुसार, मृत्यु कर लागू भएमा करिब १० अर्ब डलर उठ्न सक्छ भने, समग्रमा करिब ७० अर्ब डलर राजस्व संकलन गर्न सकिने अनुमान छ।

रिपोर्टले ५० लाख डलरभन्दा बढी सम्पत्ति भएका धनी व्यक्तिहरूमाथि दुई प्रतिशतको सम्पत्ति कर लगाइएमा मात्रै पनि हरेक वर्ष करिब ४१ अर्ब डलर उठाउन सकिने उल्लेख गरेको छ। यस्तो व्यवस्थाले पुस्तागत असमानता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ।