चीनको महत्वाकांक्षा रोक्न अमेरिका-भारत सम्बन्ध सुधार्नुपर्छ : निक्की हेली
काठमाडौं । पूर्व अमेरिकी राष्ट्रसंघीय राजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध संकटमा पुगेको बताएकी छन् । उनले यदि अमेरिकाले चीनको बढ्दो वैश्विक प्रभावलाई सम्हाल्न चाहन्छ भने दुई देश बीचको सम्बन्धलाई पुनः सन्तुलनमा ल्याउन आवश्यक रहेको बताएकी हुन् ।
बुधबार न्यूजवीकमा प्रकाशित एउटा लेखमा हेलीले डोनाल्ड ट्रम्प प्रशासनलाई रूसी तेल र ट्यारिफ विवादका कारण अमेरिका- भारतबीच दरार बढ्न नदिन सुझाव दिएकी छन् ।
उनले भारतलाई चीन जस्तो प्रतिस्पर्धी राष्ट्रको रूपमा नभई मूल्यवान लोकतान्त्रिक साझेदारको रूपमा हर्नुपर्ने धारणा राखिन् । उनले लेखिन्, 'एशियामा चीनको प्रभुत्वको विरुद्धमा एकमात्र संतुलनकर्ता भारत हो, २५ वर्षको साझा प्रगति खतरामा पार्नु रणनीतिक त्रुटि हुनेछ।'
दीर्घकालीन दृष्टिले भारतको महत्व अझ ठूलो रहेको बताएकी उनले मध्यपूर्वमा भारतको बढ्दो भूमिका क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण भएको उल्लेख गरिन् ।
हेलीले ट्रम्पको दबाब अभियानलाई समर्थन गर्दै भारतले रुसबाट तेल खरिद गर्दा ‘रुसले युक्रेनविरुद्ध जारी राखेको निर्दयी युद्धलाई वित्तपोषण गर्न सहयोग पुर्याइरहेको’ बताईन् । तर, उनले भारतसँग शत्रुजस्तो व्यवहार भने नगर्न अमेरिकालाई सुझाव दिईन् ।
भारतले रूसबाट तेल किन्ने कार्यलाई जारी राखेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत शुल्क लगाउने निर्णय गरेपछि अमेरिका र भारतबीच तनाव बढेको छ ।
भारतले भने आफ्नो ऊर्जा आवश्यकता पूर्तिका लागि रुसबाट तेल आयात गर्नुपरेको स्पष्ट पार्दै उपयुक्त समयमा अमेरिकाको जवाफ दिने बताएको छ ।
