सोमबार २२ मंसिर, २०८२

युक्रेनले परमाणु केन्द्रमा हमला गरेको रूसी आरोप

युक्रेनले परमाणु केन्द्रमा हमला गरेको रूसी आरोप

काठमाडौं । रूसी अधिकारीहरूले युक्रेनले रूसी परमाणु केन्द्रमा हमला गरेको आरोप लगाएका छन् ।

हमलाबाट रूसको पश्चिमी कुर्स्कस्थित एउटा परमाणु ऊर्जा संयन्त्रमा आगो लागेको र त्यसलाई अहिले नियन्त्रणमा लिइएको रूसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

रूसले यसक्रममा आफ्नो वायु रक्षा प्रणालीले एउटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ ।

म्यासेजिङ एप टेलिग्राममा प्लान्टको एकाउन्टमार्फत गरिएको पोस्टमा ड्रोन खस्नेबित्तिकै विस्फोट भएको थियो र एउटा ट्रान्सफर्मर क्षतिग्रस्त भएको थियो जनाइएको छ । तर विकिरणको स्तर सामान्य रहेकोले कसैलाई चोटपटक नलागेको उनीहरूले प्रस्ट पारेका छन् ।

युक्रेनले २४ अगस्टमा आफ्नो स्वतन्त्रता दिवस मनाउँछ । जुन १९९१ मा सोभियत संघबाट देशको स्वतन्त्रताको घोषणा गरेको दिनलाई उनीहरूले स्वतन्त्रता दिवसको रूपमा मनाउँछन् ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले पटक–पटक रूस र युक्रेन दुवैलाई युद्धको क्रममा परमाणु प्रतिष्ठानहरूको आसपास अधिकतम संयम अपनाउन आह्वान गरेको छ।

युक्रेनले कुर्स्कमा परमाणु स्थलमाथिको हमलाबारे रूसले लगाएको आरोपबारे कुनै टिप्पणी गरेको छैन। गत वर्ष युक्रेनी सैनिकहरूले रसियाविरुद्ध अप्रत्याशित सैन्य आक्रमण गरेका ठाउँमै अहिले युक्रेनले हमला गरेको रूसी आरोप छ ।