आइतबार २१ मंसिर, २०८२

अब बैदेशिक रोजगारीमा जानलाई लघुवित्तबाट कर्जा सुविधा

अब बैदेशिक रोजगारीमा जानलाई लघुवित्तबाट कर्जा सुविधा

काठमाडौं । अब बैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले पनि लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले भदौ ८ गते जारी गरेको सर्कुलरमार्फत पहिलोपटक यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।

नयाँ प्रावधानअनुसार, बैदेशिक रोजगारीमा जान तयारी गरेका व्यक्तिले तीन लाख रुपैयाँसम्म कर्जा पाउनेछन्। महिलाका हकमा भने यो सीमा पाँच लाख रुपैयाँसम्म तोकिएको छ। विशेष कुरा के भने, यस्तो कर्जा धितो राखेर वा विना धितो दुवै प्रकारले लिन सकिनेछ।

यसअघि लघुवित्त वित्तीय संस्थामा यस प्रकारको ‘स्पेसिफिक’ सुविधा थिएन। बैदेशिक रोजगारीमा जान लागेकाहरूले निजी साहू वा मिटर ब्याजमा ऋण लिनुपर्ने बाध्यता रहँदै आएको थियो। बैंकिङ प्रणालीमा पहुँच नपुगेका, विशेष गरी ग्रामीण भेगका कामदारहरू महँगो ऋणको चपेटामा पर्ने गरेका थिए।

राष्ट्र बैंकको यो व्यवस्थाले विदेश रोजगारीमा जानेहरूलाई सजिलोसँग आवश्यक पूँजी जुटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। साथै, महिलालाई अझ बढी सीमा तोकिएकाले उनीहरूको आर्थिक पहुँच र अवसरमा सशक्तिकरण हुने विश्वास गरिएको छ।

नयाँ प्रावधानले वैदेशिक रोजगारीका लागि ऋणमा पारदर्शिता ल्याउने, अनियमित चर्को ब्याजको चपेटाबाट कामदारलाई बचाउने र औपचारिक वित्तीय प्रणालीमा समेट्ने उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको छ।