किम जोन उनसँग भेट्ने ट्रम्पको इच्छा, भन्छन्– बहिनीपछि मै हो किमलाई राम्रोसँग चिन्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने इच्छा व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको सरकारी कार्यालय ओभल अफिसमा दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जाए म्युङ्गसँगको भेटवार्तामा ट्रम्पले उत्तर कोरियाली नेतासँग भेट्ने इच्छा देखाएका हुन् ।
आफ्नो पहिलो कार्यकालमा अमेरिका–उत्तर कोरियाबीच विफल भएको आणविक कूटनीति पुन: सुरु गर्न चाहेको बताउँदै ट्रम्पले किमसँग यसै वर्ष (सन् २०२५) भित्रै भेट्ने चाहेको बताएका गार्जिएनले उल्लेख गरेको छ ।
ओभल अफिसमा ट्रम्पले भने, ‘म किमसँग भेट गर्न चाहन्छु । उपयुक्त समयमा किमसँग भेट्ने प्रतीक्षा गरिरहेको छु ।’
ट्रम्पले जनवरीमा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि पदभार सम्हालेपछि पनि उत्तर कोरियाली सर्वोच्च नेता किमले प्रत्यक्ष वार्तामा रुचि देखाएका छैनन् ।
तर, ट्रम्प भने आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको तर परिणामविहीन कूटनीतिक संवादलाई फेरि ब्यूँत्याउने प्रयासमा देखिन्छन् ।
