मंगलबार १२ फागुन, २०८२

रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह

रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह

काठमाडौं । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल–चीनबीच व्यापारमा महत्त्वपूर्ण यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात/निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल पुनर्निर्माणको पहल गर्न सरकारसँग आग्रह गरेको हो ।

नजिकिँदो चाडपर्वका बेला उद्योगी, व्यवसायी तथा आमउपभोक्ता प्रत्यक्ष प्रभावित भएको र यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरले जनाएको छ ।

लत्ताकपडा साथै दैनिक उपभोग्य वस्तु, कच्चापदार्थ र अन्य आवश्यक सामग्री आयात अवरुद्ध भएकाले बजारमा सम्भावित अभाव सिर्जना हुने जोखिम बढेको चेम्बरले जनाएको छ ।

‘दसैं, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै छन् । अवरुद्ध  तातोपानी र रसुवा नाका समयमा पुनर्निर्माण सम्पन्न नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा छ ।

चीनसँग जोडिएका महत्त्वपूर्ण नाकाहरू लामो समय बन्द हुँदा वैदेशिक व्यापारमात्र होइन, साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि संकटमा छन् । चीनबाट आउने इलेक्ट्रोनिक्स, लत्ताकपडा, फलफूल, खाद्यान्न, औषधि र अन्य दैनिक प्रयोगका सामग्री रोकिन पुगेको चेम्बरले जनाएको छ ।

महत्त्वपूर्ण व्यापारिक नाका खुलाउने विषयलाई उच्च प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग सहकार्य गरी तत्काल पहल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।