सोमबार २२ मंसिर, २०८२

इन्डोनेसियाली सांसदहरूको तलब भत्ताविरुद्ध संसद भवन अगाडि प्रदर्शन

इन्डोनेसियाली सांसदहरूको तलब भत्ताविरुद्ध संसद भवन अगाडि प्रदर्शन

काठमाडौं। इन्डोनेसियाको राजधानी जकार्तामा संसद भवनको अगाडि सयौं प्रदर्शनकारीले सांसदहरूको तलब र सुविधाविरुद्ध प्रदर्शन गरेका छन्।

यो साता भएको यो दोस्रो ठूलो प्रदर्शन हो। यी प्रदर्शनले राष्ट्रपति प्राबोवो सुबियान्तोको सरकारप्रति बढ्दो असन्तुष्टि देखाउँछ । सुबियान्तोले आफ्नो कार्यकाल सुरु गरेको एक वर्ष पनि भएको छैन।

प्रदर्शनकारीहरूले सांसदहरूले पाउने तलब, भत्ता र सुविधा आवश्यकभन्दा बढी रहेको आरोप लगाएका छन् । उनीहरूले देशभरका मजदुरहरूको तलब वृद्धि नगरेर सांसदहरूको तलब भत्ता बढाइएकोमा आपत्ति प्रकट गरिरहेका छन् ।

मजदुर संगठनहरूले सुरु गरेका प्रदर्शनहरूमा न्यूनतम तलब वृद्धि र कर घटाउनुपर्ने माग राखेका छन्।

पछि विद्यार्थीहरू पनि विरोधमा सहभागी हुन थालेका छन् । उनीहरूले राजनीतिज्ञहरूको विलासीपूर्ण जीवनशैलीप्रति असन्तोष व्यक्त गरिरहेका छन् ।

बीबीसीका अनुसार, बढ्दो प्रदर्शनहरूलाई लक्षित गर्दै राजधानी जकार्तामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

गत सोमबार प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरी भीडलाई तितर-बितर गरेको थियो र ३०० भन्दा बढीलाई पक्राउ गरेको थियो।

सांसदहरूले आफ्ना भत्ता बढाउने प्रयास गरिरहेका छन्, तर मजदुरहरूको तलब वृद्धि गर्ने मागलाई बेवास्ता गरिएको प्रदर्शनकारीहरूले दोहोर्‍याइरहेका छन् ।