सभापति देउवा चाँडै स्वास्थ्यलाभ गरेर सार्वजनिक हुनुहुन्छ : प्रकाशशरण महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते आन्दोलनकारीलाई ताकिताकी हानिएको गोली अस्वाभाविक भएको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै महतले २३ र २४ गतेको घटनाको सघन छानबिन हुनुपर्ने भन्दै २३ गते ताकिताकी गोली हान्नु अस्वाभाविक रहेको बताएका हुन् ।
उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सोच र शैली चित्त बुझ्दो नभएको भन्दै बाध्यात्मक परिस्थितिमा संयुक्त सरकारमा बस्नुपरेको समेत बताए । सरकारमा रहँदा सरकारलाई ठिक बाटोमा जान कांग्रेसले दबाब दिन नसकेको भन्दै त्यसलाई स्वीकार गरिसकेको बताए ।
‘पहिलो दिन २३ गते नै ताकिताकी गोली प्रहार भएको छ त्यो पनि अस्वाभाविक देखिन्छ’,महतले भने, ‘नकाबधारी पनि आएको भनिएको छ । कुन खाले प्रवृत्ति त्यसमा सामेल थिए । लोकतन्त्र विरोधी । जनविरोधी, कोको थिए स्पष्ट छानबिन हुनुपर्छ ।’
उनले सभापति शेरबहादुर देउवा दम्पती स्वास्थ्य लाभ गरिरहेको भन्दै चाँडै स्वास्थ्यलाभ गरेर सार्वजनिक हुने र कांग्रेसले आगामी दिनमा लिनेबाटो तय गर्ने बताए ।
‘चाँडै स्वास्थ्यलाभ गरेर सार्वजनिक हुनुहुन्छ’, उनले भने, ‘त्यसपछि सामूहिक र संस्थागतरुपमा छलफल गरेर आगामी बाटो तय गर्छौ ।’
