आइतबार २१ मंसिर, २०८२

जेनजी आन्दोलनले नयाँ परिवर्तन ल्यायो : महान्यायाधिवक्ता भण्डारी

जेनजी आन्दोलनले नयाँ परिवर्तन ल्यायो : महान्यायाधिवक्ता भण्डारी

काठमाडौँ । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छन् । 

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले जेनजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी हुन् ।

भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवाहरूले गोली खानुपरेको उनको भनाइ छ । 

जेनजी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको उनले बताइन् । 

आन्दोलनमा सहभागी युवाहरूले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र बिदेसिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उनको भनाइ छ ।

उनले जेनजीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरू पुगेको बताइन् । जेनजी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उनको दाबी छ । 

उनले भनिन्, ‘के भनेका थिए त ती जेनजीले, के मागेका थिए त, खाली भ्रष्टाचार र एउटा सुशासनको कुरा न गरेका थिए, उनीहरुले । त्यही पनि उनीहरूको लागि भनेकै थिएनन्, त्यो बेला । अहिले देख्नुहुन्छ तपाईँहरू उनीहरुले आन्दोलन गरे तर पदमा जाने त हामी पो भएछौँ । उनीहरू त छैनन् त । उनीहरुले मागेका थिए खाली सुशासन होस्, हामी बाहिर जान नपरोस् । भ्रष्टाचारको अन्त्य होस् । आज माग्दा खेरी गोली खाए । र गोली खाएपछि नयाँ परिवर्तन आएको छ । त्यसैले म हरेक अभिभावकलाई छातीमा हात राखेर भन्नुस्, म अनुरोध गर्छु । के ती बच्चाहरूले आफ्ना लागी आन्दोलन गरेका थिए त ? होइन, देशका लागी आन्दोलन गरेका थिए । उनीहरूलाई केही चाहिएकै थिएन । उनीहरुले खाली हामी विदेश जान नपरोस्, हामीले हाम्रो मान्छे भनेर खोजेर जागिर खान नपरोस्, योग्यताको कदर होस् । भन्ने किसिमले माग गरेका आएका थिए ।’ 

उनले आन्दोलनका क्रममा जेनजीहरुले सार्वजनिक सम्पत्ति नजलाएको पनि दाबी गरिन् । जेनजीहरुको सार्वजनिक सम्पत्तिमा क्षति गर्छन् भन्ने सोच्न समेत नसकिने उनको भनाइ छ । 

जेल ब्रेक भएपछि त्यहाँबाट भागेर आएका कैदीहरूले सरकारी वकिल कार्यालय र अदालतमा आक्रमण गरेको उनले दाबी गरिन् ।