प्रचण्डले लगाउने ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागबारे माओवादी बैठकमा नेताहरूले उठाए प्रश्न
काठमाडौं– नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको विलासी जीवनशैलीबारे प्रश्न उठेको छ ।
बैठकमा केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले लिखित प्रस्ताव पेस गर्दै प्रचण्डले लगाउने ६४ लाखको रोलेक्स घडी र गंगाले बोकेको २८ लाखको लुई भिटन ब्यागको वैधानिकता स्पष्ट गर्नुपर्ने माग गरेका हुन् ।
उनले यदि मिडियामा आएका समाचार गलत भए सम्बन्धित सञ्चारमाध्यम र संसदमा यो विषय उठाउने कांग्रेस सांसद सुनील शर्माविरुद्ध मानहानि मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिए ।
उपहारस्वरूप पाएका भए पनि यस्ता विलासी सामान व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिकरूपमा अस्वीकार्य हुने उनको तर्क छ ।
इमरान खानले प्रधानमन्त्री हुँदा महँगा उपहार बेचेर लाभ उठाएको विवाद स्मरण गराउँदै पन्तले नेतृत्वको पारदर्शिता र जीवनशैलीबारे स्पष्ट जवाफ मागे ।
साथै, उनले नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ का २ अर्ब ८२ करोड, र विगत १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको लाभबारे निष्पक्ष छानबिन गर्न माग गरे ।

