डडेल्धुरा अस्पतालको लापरवाही : जथाभावी फोहरले संक्रमण फैलिने डर, स्थानीय त्रसित
डडेल्धुरा । उप–क्षेत्रीय अस्पताल डडेल्धुरा (डडेल्धुरा अस्पताल) आसपासका क्षेत्रमा अस्पताल प्रशासनले जथाभावी फोहरमैला खुला रूपमा फाल्दा स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
स्थानीयको सहमति बिना नै अस्पताल प्रशासनले अनियन्त्रित रूपमा सडकछेउ र सार्वजनिक स्थानमा फोहर फाल्ने गरेको जनाइएको छ ।
फोहरमैला खुलेआम सडकमा फालिँदा जनावरहरूले ती फोहर घरभित्रसम्म तान्ने गरेका कारण स्थानीयहरूलाई स्वास्थ्य जोखिम मात्र होइन, आवतजावतमै समेत असहजता भोग्नु परेको छ ।
अमरगढी नगरपालिका–५ का बासिन्दाले अस्पताल प्रशासनलाई पटक–पटक मौखिक रूपमा फोहर व्यवस्थापन गर्न आग्रह गरे पनि बेवास्ता गरिएको आरोप लगाएका छन् । स्थानीयवासीका अनुसार अस्पताल प्रमुख (अध्यक्ष) लाई यस विषयमा जानकारी दिइए पनि कुनै प्रभावकारी कदम चालिएको छैन ।
“अस्पताल भनेको हड्डी र फोहोर निस्काउने ठाउँ होइन, रोगी निको पार्ने ठाउँ हो । पहिले वातावरण सफा गरौं, त्यसपछि आफू सफा बनौं,” एक स्थानीयवासीले भने।
जनगुनासोबारे उपक्षेत्रीय अस्पताल डडेल्धुरा विकास समितिका अध्यक्षकरुणाकर ओझाले जनगुनासो स्वीकार गर्दै अस्पताल प्रशासनले आजैदेखि फोहर व्यवस्थापनको पहल गर्ने बताए । उनले भने, “फोहर व्यवस्थापनमा भएको कमजोरी सुधार्ने प्रतिबद्धता लिएका छौं, यसका लागि स्थानीय निकायसँग सहकार्य गर्दै छौं।”
स्थानीयहरूले फोहरमैला व्यवस्थापनमा तत्काल सुधार गर्न आग्रह गर्दै अस्पताल र नगरपालिकाले समन्वयात्मक रूपमा स्थायी समाधान निकाल्नुपर्ने माग गरेका छन् ।
