अकबरे खुर्सानीमा देखियो अत्यधिक विषादी
काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
यसअघि बिहीबार मात्रै कालीमाटी तरकारी बजारमै बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
आज सोमबार फेरि मकवानपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा अकबरे खुर्सानीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त अकबरे खुर्सानी उपभोग अयोग्य रहेको जनाइएको छ ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।
यसअघि असार अन्तिम साता पनि पनि रायो साग, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
