‘चाइना-स्पीड’ उत्पादन र युरोपेली अनुसन्धानसहित चिनियाँ अटो ब्रान्ड ‘चांगान’ पहिलोपटक बेलायतमा
काठमाडौं । सन् २०१० देखि बेलायतको बर्मिङहम सहरमा अनुसन्धान तथा विकास केन्द्र र सन् २००१ देखि इटलीको ट्युरिनमा डिजाइन सेन्टर सञ्चालनमा भए पनि तपाईंले यो ब्रान्डबारे सम्भवतः यस अघि सुन्नु भएको नहुन पनि सक्छ।
चांगान अटोमोबाइल अहिले बेलायतमा इलेक्ट्रिक गाडी बिक्री गर्न थालेका चिनियाँ अटोमोबाइल कम्पनीहरू मध्येको नयाँ नाम हो। यो कम्पनी १४० वर्षभन्दा पुरानो हो र सन् १९८० को दशकदेखि चीनमा यात्रुवाहक कार उत्पादन गर्दै आएको छ।
कम्पनीले पहिले नै बेलायतमा राइट-ह्याण्ड ड्राइभका लागि आवश्यक पार्ट्स भण्डारण गरिएको गोदाम तयार पारेको छ, जसले बीमा सजिलो बनाउन र ग्राहकलाई आवश्यकताका बेला तुरुन्तै स्पेयर पार्ट्स उपलब्ध गराउन सहयोग गर्नेछ।
बेलायतमा आएको चांगानको पहिलो मोडेल Deepal S07 हो, जुन मध्यम आकारको इलेक्ट्रिक SUV हो। यसको मूल्य £३९,९९० तोकिएको छ र यसले Volkswagen ID.4 तथा Tesla Model Y जस्ता लोकप्रिय मोडेलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ। अर्को वर्ष यसमा थप सानो SUV Deepal S05 पनि आउनेछ जसको मूल्य कम्पनीले नखुलाए पनि करिब £३३,००० भन्दा कम हुने अनुमान गरिएको छ भने यसले उस्तै आकार र सस्तो मूल्यको Volvo EX30 जस्तो SUV सँग प्रतिस्पर्धामा गर्नेछ।
बेलायतका विशेष सडकका लागि गाडीमा सूक्ष्म परिमार्जन
बेलायत र युरोपका लागि नयाँ भए पनि चांगान चीनमा सन् २०२३ देखि उपलब्ध छ र हाल अष्ट्रेलिया तथा मेक्सिको जस्ता देशहरूमा पनि बिक्रीमा आएको छ।
लन्च कार्यक्रममा चांगानले बेलायतमा आएका गाडीहरू त्यहाँका चालकले राख्ने विशेष र उच्च माग अनुसार अनुकूल बनाउनु आवश्यक रहेकोमा जोड दियो। यो चिनियाँ निर्माताहरूका लागि चुनौतीपूर्ण हुनेछ, किनभने उनीहरूले प्रायः चीनका धेरै फरक खाले सडकका लागि डिजाइन गरिएका गाडीहरू बिक्री गर्दै आएका हुन्छन्।
सबैभन्दा पहिले चीनमा गाडीहरू चालकको सट्टा प्रायः पछाडि बस्ने यात्रुको आराममा केन्द्रित हुन्छन्। त्यस्तै, बेलायतको तुलनामा चीनका सहरमा ढल्केका र साँघुरा सडकहरू कम पाइन्छन्, जसले चेसिस र ADAS प्रणाली दुवैका लागि थप चुनौती सिर्जना गर्छ।
यही कारणले चांगानले बर्मिङहमस्थित R&D केन्द्रमार्फत बेलायतका लागि पठाइने Deepal S07 मा करिब १५० प्रकारका सुधारहरू गरेको छ। यसमा ADAS प्रणालीमा सुधार, सफ्टवेयरमा परिवर्तन र सस्पेन्सन ट्युनिङजस्ता कामहरू गरिएको छ जसले बेलायती ग्राहकलाई आवश्यक आराम र रोड होल्डिङको सन्तुलन दिनेछ।
चांगान जस्ता OEM कम्पनीहरूले अपनाउने “चाइना-स्पीड” उत्पादन शैलीले अर्को फाइदा पनि दिन्छ। बेलायतका लागि सस्पेन्सन परिमार्जनको प्रारम्भिक विकासदेखि पहिलो प्रोटोटाइप तयार हुन केवल एक महिना लाग्यो, जसले यो कम्पनी कुनै पनि देशको आवश्यकता अनुसार गाडीलाई छिटो परिमार्जन गर्न सक्षम छ भन्ने देखाउँछ।
छिटो अनुकूलन गर्ने यस्तो क्षमताले फरक खाले सडकमा प्रयोगका लागि उपयुक्त गाडी बनाउन नसकेर असफल भएका अन्य कम्पनीभन्दा चांगानलाई सफल बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
