सोमबार २२ मंसिर, २०८२

कुमारी बैंकको छात्रवृत्ति ‘कुमारी’ तृष्णा शाक्यलाई हस्तान्तरण

कुमारी बैंकको छात्रवृत्ति ‘कुमारी’ तृष्णा शाक्यलाई हस्तान्तरण

काठमाडौं । कुमारी बैंकले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।

बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष बैंकले एक लाखको दरले छात्रवृत्ति स्वरुप रकम प्रदान गर्दै आएको छ ।

एक कोष खडा गरी सो रकम जम्मा हुँदै आएको छ । यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु रहेको बैंकले जनाएको छ ।

सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ ।