सोमबार १९ माघ, २०८२

टिकटकले हटायो ३२ प्रतिशत भन्दा बढी भिडिओ, नेपालमा मोडरेशन कडा बन्दै

टिकटकले हटायो  ३२ प्रतिशत भन्दा बढी भिडिओ, नेपालमा मोडरेशन कडा बन्दै

काठमाडौं । नेपालमा टिकटकले हटाउने मापदण्डविपरीतका भिडिओहरूको संख्या तीव्र रूपमा बढेको छ। सन् २०२५ को दोस्रो त्रैमासिक (एप्रिल–जुन) अवधिमा टिकटकले नेपालमा २४ लाख ७६ हजार ३४५ भिडिओ हटाएको छ, जुन पहिलो त्रैमासिकको तुलनामा करिब ३२ प्रतिशत बढी हो।

यसअघि जनवरी–मार्चमा १८ लाख ७६ हजार भिडिओ हटाइएका थिए। टिकटकको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ अनुसार, हटाइएका भिडिओमध्ये ९९.८ प्रतिशत सामग्री प्लेटफर्मले आफैं स्वचालित प्रणालीमार्फत् हटाएको हो र ९९.४ प्रतिशत भिडिओ २४ घण्टाभित्रै मेटिएको छ।

नेपालमा सूचीकृत भएयता टिकटक र सरकारबीच कन्टेन्ट नियमन र सहकार्यमा प्रगति भएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। तर डिजिटल अधिकारका विज्ञहरूले भने पारदर्शिताको कमी र हटाइएका भिडिओहरूको वास्तविक कारण अस्पष्ट रहेको बताएका छन्। उनीहरूका अनुसार, टिकटकले कुन मापदण्ड उल्लङ्घनका कारण भिडियो हटाइयो भन्ने नबताउनु गम्भीर प्रश्न हो।

जेन जी आन्दोलनका बेला हिंसात्मक र उक्साहटपूर्ण भिडिओहरू लामो समयसम्म प्लेटफर्ममा रहँदा पनि ढिलाइ भएको भन्दै टिकटकको भूमिकामाथि आलोचना भएको छ। सन् २०२३ मा नेपाल सरकारले “सामाजिक सद्भावमा खलल” आरोप लगाउँदै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो, जुन २०२४ मा प्लेटफर्मले दर्ता र सहकार्य गर्न सहमति जनाएपछि फुकुवा गरिएको थियो।

दोस्रो त्रैमासिकमा हटाइएका भिडिओहरूको तीव्र वृद्धि नेपालमा डिजिटल नियमन सक्रिय हुँदै गएको सङ्केत हो। तर यसले अर्को गम्भीर प्रश्न पनि उठाएको छ — के टिकटकले वास्तवमै मापदण्ड पालना गरिरहेको हो, वा स्वतन्त्र अभिव्यक्तिमा अनावश्यक हस्तक्षेप भइरहेको छ ?