सोमबार २२ मंसिर, २०८२

केन्द्रीय समिति बैठकअघि कांग्रेस पदाधिकारी बैठक सानेपामा

केन्द्रीय समिति बैठकअघि कांग्रेस पदाधिकारी बैठक सानेपामा

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक रोकेर शुक्रबार पदाधिकारीहरूको बैठक गरिरहेका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा इतर समूहका नेता डा. शेखर कोइरालासहितको पदाधिकारी बैठक  जारी छ ।

बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकाका विषयमा विवाद भएपछि कार्यवाहक सभापति खड्काले सहमति जुटाउने प्रयासस्वरुप पदाधिकारीहरूसँग छलफल गरिरहेका हुन् ।

बिहीबारको बैठकमा आगामी मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने अनुमति नपाएपछि महामन्त्री गगन थापाले बैठक बहिस्कार गरेका थिए । 

त्यसबारे थापाले शुक्रबार बिहान इतर समूहका नेता डा. कोइरालासँग छलफल गरेका थिए । त्यसपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासँग कार्यवाहक सभापति खड्काले आफ्नै निवास गोल्फुटारमा छलफल गरेका थिए ।

अहिले केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बसिरहेको र केन्द्रीय समिति बैठक सुरु नभएको केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

महामन्त्रीद्वयसँगको छलफलमा कार्यवाहक सभापति खड्काले महाधिवेशनको कार्यतालिकाबारे पदाधिकारी बैठकमा छलफल गरेर सहमतिका आधारमा अगाडि बढ्ने बताएका थिए । त्यही प्रयासस्वरुप अहिले बैठक बसिरहेको हो ।

कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्मा तथा इतर समूहले मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्ने बताइरहेको छ । 

संस्थापन समूहले भने आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताइरहेको छ ।