धुलिखेल–खावा सडक पुनः ठेक्का सम्झौता हुँदै, १५ करोडले बढ्यो लागत
काठमाडौँ। धुलिखेल–खावा सडक खण्ड विस्तारका लागि पुनः ठेक्का सम्झौता गर्ने तयारी सुरु भएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरले आगामी एक–दुई दिनभित्र निर्माण कम्पनीसँग सम्झौता गर्ने योजना बनाएको जनाएको छ।
भक्तपुर सडक डिभिजन प्रमुख सुमन योगेसले जानकारी दिँदै भने, “भ्याएसम्म भोलि नभए पर्सिसम्म सम्झौता गर्ने तयारी छ। नयाँ ठेक्काको लागत करिब ३५ करोड रुपैयाँ रहनेछ, जसमा करिब १५ करोड रुपैयाँको वृद्धि देखिएको छ।”
सडक विस्तार कार्यको ठेक्का पहिलो पटक २०७९ साउन १ गते आह्वान गरिएको थियो। इच्छुक निर्माण कम्पनीले ३० दिनभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। तर जेनजी आन्दोलन, दसैँ–तिहार लगायतका कारणले ठेक्का सम्झौता समयमै हुन सकेको थिएन।
यसअघि सडक विस्तारको ठेक्का गौरी–पार्वती निर्माण सेवालाई दिइएको थियो। करिब २२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सर्तमा २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा सम्झौता भए पनि, ११ महिनापछि निर्माण सम्पन्न नभएको कारण ठेक्का रद्द गरिएको थियो।
धुलिखेल–खावा सडक खण्ड अरनिको राजमार्गसँग जोडिएको र तातोपानी नाका हुँदै चीन तथा दोलखा, रामेछाप जिल्लामा आवत–जावतको मुख्य मार्ग हो। करिब ४ किलोमिटर लामो सडकलाई १२ मिटर चौडा पारेर कालोपत्र गर्ने योजना अनुरूप निर्माण अघि बढाइनेछ।
