ऊर्जा र सिँचाइ क्षेत्रका १६ आयोजना राष्ट्रिय प्राथमिकता सूचीमा सूचीकृत
काठमाडौं । सरकारले ऊर्जा क्षेत्रका १६ महत्वपूर्ण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा सूचीकृत गरेको छ।
सरकार र निजी प्रवर्द्धक दुवैको सहकार्यमा सञ्चालन हुने ऊर्जा विकास, जलविद्युत् उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित आयोजनाहरूलाई यस सूचिमा समेटिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सूचीमा समावेश योजनामध्ये केही आयोजना पहिले नै राष्ट्रिय गौरवका आयोजनाका रूपमा पहिचान भइसकेका छन्।
सूचीमा परेका आयोजना हुन् — बबई सिँचाइ, भेरी–बबई डाइभर्सन, सुनकोशी–मरिन डाइभर्सन, सिक्टा सिँचाइ, महाकाली सिँचाइ, रानी जमरा कुलरिया सिँचाइ, नौमुरे बहुउद्देश्यीय आयोजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजना, बागमती सिँचाइ, नवीनतम यान्त्रिक सिँचाइ आयोजना, प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजना, सुनसरी–मोरङ सिँचाइ, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, बृहत् दाङ उपत्यका सिँचाइ आयोजना, जलस्रोत संरक्षण आयोजना (रुपाताल र धाप बाँध), र कर्णाली–पश्चिम राप्ती–नारायणी नदी व्यवस्थापन आयोजना।
मन्त्रालयका अनुसार, यस्ता आयोजनालाई राष्ट्रिय प्राथमिकता सूचीमा राखिएपछि ती परियोजनाका लागि आवश्यक बजेट सुनिश्चित हुने र कार्यान्वयनमा सरकारले सहजीकरण तथा निगरानीमा विशेष प्राथमिकता दिने व्यवस्था छ।
सरकारको यो निर्णयले ऊर्जा र सिँचाइ क्षेत्रको पूर्वाधार विकासलाई गति दिने र दीर्घकालीन ऊर्जा सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
