आइतबार २१ मंसिर, २०८२

वाणिज्य विभागले कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई तिरायो २ लाख जरिबाना

वाणिज्य विभागले  कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई तिरायो २ लाख जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कस्मेटिक सामान वितरण कम्पनीलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरी सामान बिक्री गरेको आरोपमा २ लाख रुपैयाँ जरिवाना तिराएको छ।

विभागको अनुगमन टोलीले सोमबार काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित श्रीसालासर डिस्ट्रिब्युटर्स प्रालिमा निरीक्षण गर्दा एमआरपी उल्लेख नगरी बिक्री वितरण गरिरहेको फेला पारेपछि २ लाख १ हजार रुपैयाँ जरिवाना तिराएको हो।

त्यसैगरी विभागले अन्य दुई कम्पनीमाथि पनि कारबाही गरेको छ। काठमाडौं–१४ कलंकीस्थित विकास ट्रेड प्रालिलाई मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको कारण २० हजार रुपैयाँ, र काठमाडौं–१३ स्युचाटारस्थित नेपाल थोपा सिँचाइ प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

विभागले सोमबार मात्र १६ वटा व्यवसायिक फर्महरूको अनुगमन गरेको थियो, जसमा १३ फर्मलाई सुधारका लागि सामान्य निर्देशन दिइएको छ।

उपभोक्ताको अधिकार र बजार अनुशासन सुनिश्चित गर्न विभागले आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।