एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा किन हेर्न नपाइने ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता यस वर्ष भारतीय टेलिभिजन च्यानल स्टार टीभी र नेपाली टेलिभिजन दुवैबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का स्रोतका अनुसार स्टार टेलिभिजनसँग खेल प्रसारणको सम्झौता हिजो मात्र टुंगो लागेकाे हो । यससँगै अब एनपीएल नेपाली टेलिभिजन च्यानलहरूमार्फत पनि देखाइने भए पनि एक्सक्लुसिभ अधिकार भने कुनै एक च्यानललाई नहुने भएको छ ।
क्यानले यसअघि नेपालभित्रको प्रसारण अधिकारका लागि बोलपत्र आह्वान गरेको थियो। तर, टेण्डरको अन्तिम म्याद सकिनुअघि नै क्यानले एक्सक्लुसिभ अधिकार नहुने निर्णय लिएको हो।
यस वर्षको अर्को परिवर्तन भनेको युट्युबमा खेल हेर्न नपाइने व्यवस्था हो। गत वर्ष एनपीएलका खेलहरू युट्युबमा निःशुल्क हेर्न सकिन्थ्यो, तर यसपटक क्यानले त्यो विकल्प हटाएको छ।
क्यानले नयाँ मोडेलअन्तर्गत मोबाइल एपमार्फत खेल हेर्ने सुविधा दिने तयारी गरेको छ। ती एपमा दर्शकले सशुल्क सदस्यता लिएर मात्र खेल हेर्न सक्नेछन्। यसले टेलिभिजनको पहुँच बाहिर रहेका दर्शक र विदेशमा रहेका नेपालीहरूलाई विकल्प दिने अपेक्षा गरिएको छ।
यद्यपि, क्यानले यसबारे औपचारिक घोषणा अझै गरेको छैन। क्यानका एक पदाधिकारीका अनुसार, “प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै आधिकारिक जानकारी सार्वजनिक गरिनेछ। आज साँझ वा भोलिसम्म स्पष्ट विवरण आउँछ,” उनले भने।
नेपाल प्रिमियर लिग आगामी मंसिर १ गतेदेखि सुरु भएर २७ गतेसम्म सञ्चालन हुने तालिका तय गरिएको छ।
