कुमारी बैंकले यो वर्ष पनि लाभांश नदिने
काठमाडौं । कुमारी बैंकले यो वर्ष पनि सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ ।
बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
वार्षिक साधारणसभा र बुक क्लोजको मिति भने पछि तय हुने बैंकले जनाएको छ । गत वर्ष पनि कुमारी बैंकले सेयरधनीलाई कुनै लाभांश दिएको थिएन ।
आर्थिक वर्ष २०७९/८० मा १२.५० प्रतिशत नगद लाभांश पाएयता सेयरधनीको हात रित्तो रहँदै आएको छ । बैंकको हाल सञ्चित नोक्सानी रकम ३ अर्ब ९१ करोड रुपैयाँ छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १६.२९ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता १८१.९० रुपैयाँ छ।
