४ महिनामै खर्ब नजिक निर्यात, आयात ६ खर्ब माथि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा (साउनदेखि कात्तिक) नेपालको वस्तु निर्यात करिब एक खर्बमा पुग्दै नयाँ उचाइमा पुगेको छ।
भन्सार विभागका अनुसार यो अवधिमा देशले ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको निर्यात गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७७.५१ प्रतिशत बढी हो। गत वर्ष नै निर्यातले कीर्तिमान बनाएको थियो, तर यस वर्ष चार महिनाकै तथ्यांकले त्यही रेकर्ड उछिन्ने सङ्केत गरेको छ।
यसै अवधिमा आयात समेत उल्लेख्य रूपमा बढेको छ। विभागका अनुसार चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो। गत वर्ष साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब रुपैयाँको मात्र आयात भएको थियो।
निर्यात र आयात दुवै बढेपछि समग्र वैदेशिक व्यापारको आकार २४.१८ प्रतिशतले विस्तार भई कात्तिक मसान्तसम्म ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। तर, व्यापार घाटा भने थप बढ्दै ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ।
वैदेशिक व्यापारमा आयातको हिस्सा केही घटेर ८६.७० प्रतिशत कायम हुँदा निर्यातको हिस्सा ४२.९४ प्रतिशतले बढेर १३.३० प्रतिशत पुगेको छ।
मुख्य निर्यात र आयात
निर्यातमा सबैभन्दा ठूलो हिस्सा घ्यू–तेलजन्य वस्तुको रहेको छ, जसको कुल मूल्य ४४ अर्ब ७० करोड रुपैयाँ हाराहारी छ। कफी, चिया, मसला लगायतका वस्तुले पनि राम्रो बजार पाएका छन्, जसको निर्यात ५ अर्ब ९१ करोड पुगेको छ।
आयाततर्फ पेट्रोलियम पदार्थ शीर्षमा छन्। कात्तिक मसान्तसम्म मात्रै पेट्रोलियम आयातमा ९२ अर्ब ४२ करोड रुपैयाँ खर्चिएको छ। खाद्य घ्यू–तेलजन्य पदार्थ, आइरण–स्टिल, इलेक्ट्रिकल उपकरण, सवारीसाधन, मल र औषधि पनि उच्च परिमाणमा आयात भएका वस्तु हुन्।
भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको छ। भारतबाट ३ खर्ब ३७ अर्बको आयात हुँदा नेपालले भारततर्फ ७६ अर्ब ५० करोड बराबरका वस्तु निर्यात गरेको छ। चीन दोस्रो ठूलो स्रोत मुलुक हो, जहाँबाट १ खर्ब ३२ अर्ब बराबरको वस्तु आयात भए पनि निर्यात नगन्य (२९ करोड) मात्र रहेको छ। अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र अमेरिका क्रमशः तेस्रो, चौथो र पाँचौँ प्रमुख व्यापार साझेदार हुन्।
सोयाबिन तेल : आयात र निर्यात दुवैमा शीर्ष
यो वर्ष कच्चा सोयाबिन तेल ३७ अर्ब ८६ करोड रुपैयाँ बराबर आयात भई आयातको पहिलो स्थानमा परेको छ। डिजेल र पेट्रोल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
उता निर्यातमा पनि सोयाबिन तेल नै शीर्षमा छ, चार महिनामा ३८ अर्ब ४३ करोड रुपैयाँ बराबर निर्यात भएको छ। अलैंची, कार्पेट, सूर्यमुखी तेल र जुट क्रमशः प्रमुख निर्यात वस्तु बनेका छन्।
