सिटिजन्स बैंकले सार्वजनिक गर्यो युवामुखी ‘जेन–जी सेभिङ्ग अकाउन्ट’
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ पुस्तालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ सार्वजनिक गरेको छ। मंसिर ८ गते बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त खाताको औपचारिक सुरुआत गरेका हुन्।
यो बचत खाता विशेषगरी विद्यार्थी, फ्रीलान्सर, कन्टेन्ट क्रिएटर, उद्यमशील युवा तथा डिजिटल क्षेत्रमा सक्रिय जनसमुदायलाई ध्यानमा राखेर तयार गरिएको बैंकले जनाएको छ।
युवाको जीवनशैली र वित्तीय आवश्यकतालाई केन्द्रमा राख्दै बैंकले यस खातामार्फत सुविधाजनक, स्मार्ट र किफायती बैंकिङ अनुभव प्रदान गर्ने अपेक्षा राखेको छ।
जेन–जी सेभिङ्ग अकाउन्ट न्यूनतम रु १०० मै सञ्चालन गर्न सकिनेछ र वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्राप्त हुनेछ। त्यसैगरी, नयाँ ग्राहकले पहिलो वर्ष चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन र सि–आश्वा रेजिष्ट्रेशन सेवा नि:शुल्क उपयोग गर्न सक्नेछन्।
डिजिटल सेवा विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ—चारै सेवा रु ५०० मै उपलब्ध गराउने विशेष बन्डल सुविधा ल्याएको छ। यसले युवाग्राहकलाई न्यून लागतमा व्यापक डिजिटल पहुँच दिने विश्वास बैंकले लिएको छ।
यसका अतिरिक्त, ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ। मोबाइल बैंकिङमा समावेश ‘जेन–जी ड्यासबोर्ड’ले व्यक्तिगत डिजिटल अनुभव प्रदान गर्नेछ। यस खाताबाट पहिलो मोबाइल टप–अप गर्दा ग्राहकले २५ प्रतिशत नगद फिर्ता प्राप्त गर्ने सुविधा पनि रहेको बैंकले जानकारी दिएको छ।
सिटिजन्स बैंकले जेन–जी सेभिङ्ग अकाउन्टले युवा पुस्तालाई आधुनिक, छरितो र डिजिटलमैत्री बैंकिङ सेवाको नयाँ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
