आइतबार २१ मंसिर, २०८२

सौर्यमण्डलको वेग भविष्यवाणी गरेभन्दा तीन गुणा बढी, कस्तो पर्छ असर ?

सौर्यमण्डलको वेग भविष्यवाणी गरेभन्दा तीन गुणा बढी, कस्तो पर्छ असर ?

हाम्रो सौर्यमण्डल ब्रह्माण्डमा कति छिटो र कुन दिशामा गइरहेको छ ? सुन्दा सरल लाग्ने यो प्रश्न वास्तवमा हाम्रो ब्रह्माण्डसम्बन्धी बुझाइको एक महत्त्वपूर्ण परीक्षण हो। 

बिलेफेल्ड विश्वविद्यालयका खगोल भौतिकशास्त्री लुकास बोमको नेतृत्वमा रहेको एउटा अनुसन्धान टोलीले यसका नयाँ उत्तरहरू पत्ता लगाएको छ, जसले ब्रह्माण्ड विज्ञानको स्थापित मानक मोडेललाई नै चुनौती दिन्छ। यो अध्ययनको नतिजा भर्खरै फिजिकल रिभ्यु लेटर्स जर्नलमा प्रकाशित भएको छ।

अध्ययनका मुख्य लेखक बोम भन्छन्, ‘हाम्रो विश्लेषणले सौर्यमण्डल हालका मोडेलहरूले भविष्यवाणी गरेभन्दा तीन गुणा बढी वेगले चलिरहेको देखाउँछ।’ 

उनी थप्छन्, ‘यो नतिजा मानक ब्रह्माण्ड विज्ञानमा आधारित अपेक्षाहरूसँग स्पष्ट रूपमा बाझिन्छ र यसले हामीलाई हाम्रा अघिल्ला धारणाहरूमा पुनर्विचार गर्न बाध्य पार्छ।’ 

सौर्यमण्डलको गति निर्धारण गर्न अनुसन्धान टोलीले आकाशमा रहेका 'रेडियो आकाशगंगा’हरूको वितरणको विश्लेषण गर्‍यो। यी टाढाका आकाशगङ्गाहरू हुन्, जसले विशेष रूपमा शक्तिशाली रेडियो तरंगहरू उत्सर्जन गर्दछन्। दृश्य प्रकाशलाई धूलो र ग्यासले छेक्ने भए पनि रेडियो तरङ्गहरूले तिनलाई छिचोल्न सक्छन्। त्यसैले, रेडियो टेलिस्कोपहरूले सामान्य अप्टिकल उपकरणहरूका लागि अदृश्य रहने आकाशगङ्गाहरूलाई पनि अवलोकन गर्न सक्छन्।

जब सौर्यमण्डल ब्रह्माण्डमा अघि बढ्छ, यो गतिले एक प्रकारको सूक्ष्म हेडविन्ड (विपरीत दिशाबाट आउने हावा जस्तै प्रभाव) उत्पन्न गर्दछ। यसको अर्थ, हामी गइरहेको दिशामा अन्य दिशाहरूको तुलनामा अलिकति धेरै रेडियो आकाशगङ्गाहरू देखा पर्छन्। यद्यपि, यो भिन्नता निकै सानो हुने भएकाले यसलाई अत्यन्त संवेदनशील मापनद्वारा मात्र पत्ता लगाउन सकिन्छ। 

अनुसन्धानकर्ताहरूले युरोप-व्यापी रेडियो टेलिस्कोप नेटवर्क 'लोफार' (लो फ्रिक्वेन्सी) र अन्य दुई रेडियो अब्जर्भेटरीहरूबाट प्राप्त तथ्याङ्कहरू मिलाएर पहिलो पटक रेडियो आकाशगंगाहरूको विशेष सटीक गणना गरे। उनीहरूले एक नयाँ सांख्यिकीय विधि प्रयोग गरे, जसले रेडियो आकाशगंगाहरूमा धेरै घटकहरू हुन्छन् भन्ने तथ्यलाई ध्यानमा राखेको थियो। यो सुधारिएको विश्लेषण विधिले मापनमा देखिन सक्ने अनिश्चितताहरूलाई अझ यथार्थवादी रूपमा प्रस्तुत गर्‍यो। यी सबै कुरालाई विचार गर्दा पनि, तीनवटै रेडियो टेलिस्कोपबाट प्राप्त तथ्याङ्कहरूको संयोजनले ‘पाँच सिग्मा’ भन्दा बढीको विचलन देखायो। विज्ञानमा यसलाई कुनै पनि नतिजाको प्रमाणिकता पुष्टि गर्ने सांख्यिकीय रूपमा निकै बलियो आधार मानिन्छ। 

मापनले रेडियो आकाशगंगाहरूको वितरणमा एक प्रकारको असमानता (एनिस्ट्रोपीरडाइपोल) देखाउँछ, जुन ब्रह्माण्डको मानक मोडेलले भविष्यवाणी गरेभन्दा ३.७ गुणा बढी शक्तिशाली छ। मानक मोडेलले 'बिग ब्याङ्ग' देखि ब्रह्माण्डको उत्पत्ति र विकासको वर्णन गर्दछ र यसले ब्रह्माण्डमा पदार्थको वितरण ठुलो हदसम्म एकनासको (एकरूप) हुन्छ भन्ने मान्यता राख्छ।

बिलेफेल्ड विश्वविद्यालयका ब्रह्माण्डशास्त्री र अध्ययनका सह(लेखक प्रोफेसर डोमिनिक जे. श्वार्ज भन्छन्, ‘यदि हाम्रो सौर्यमण्डल साँच्चै यति तीव्र गतिमा चलिरहेको हो भने, हामीले ब्रह्माण्डको बृहत् संरचनाबारे हाम्रा आधारभूत धारणाहरूमाथि नै प्रश्न उठाउनुपर्ने हुन्छ।’ 

वैकल्पिक रूपमा हेर्दा, रेडियो आकाशगंगाहरूको वितरण नै हामीले मानेभन्दा कम एकनासको हुन सक्छ। जे भए पनि, यसले हाम्रा वर्तमान मोडेलहरूलाई पुनः परीक्षणको दायरामा ल्याएको छ।

यी नयाँ नतिजाहरूले ‘क्वासर’हरूको अध्ययनमा आधारित पहिलेका अवलोकनहरूलाई पनि पुष्टि गर्छन्। क्वासरहरू टाढाका आकाशगंगाका अत्यधिक उज्यालो केन्द्रहरू हुन्, जहाँ सुपरमासिभ ब्ल्याक होलहरूले पदार्थलाई आफूतिर तान्छन् र ठुलो मात्रामा ऊर्जा उत्सर्जन गर्छन्। 

इन्फ्रारेड तथ्याङ्कहरूमा पनि यस्तै असामान्य प्रभाव देखिएको थियो, जसले यो केवल मापनको त्रुटि नभएर ब्रह्माण्डको एक वास्तविक विशेषता हो भन्ने संकेत गर्छ। यो अध्ययनले नयाँ अवलोकन विधिहरूले कसरी ब्रह्माण्डसम्बन्धी हाम्रो बुझाइलाई मौलिक रूपमा परिवर्तन गर्न सक्छन् र ब्रह्माण्डमा अझै कति धेरै कुराहरू पत्ता लाग्न बाँकी छन् भन्ने तथ्यलाई उजागर गरेको छ।