उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दा मनोबल खस्कियो : मल्होत्रा
काठमाडौँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरूको आत्मबल कमजोर भएको बताएका छन् ।
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अन्य मुलुकमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार नआएसम्म मुलुकमा आर्थिक विकास हुन नसक्ने बताए । उनले इज्जत पाउने वर्गलाई इज्जत नदिनु दुःखद कुरा भएको बताए ।
अध्यक्ष मल्होत्राले जेन–जी आन्दोलन हुनुको मुख्य कारण नै मुलुकभित्रको कुशासन रहेको बताए । अब कुशासनलाई हटाएर मुलुकमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । उनकाअनुसार निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठुलो सम्भावना रहेको बताए। उनले आगामी दिनमा भियतनामसँग सम्बन्ध बढाएर नेपालले व्यावसायिक फाइदा लिनुपर्नेमा जोड दिए ।
पूर्वअध्यक्ष श्रेष्ठले भने–‘भियतनामको जुन जीडीपी ग्रोथ छ, सोही अनुसारको नेपालले हासिल गर्नका लागि सम्बन्ध बढाउन जरुरी छ ।’
उनले भियतनाममा हुने मेलाहरूबाट फाइदा उठाउन नेपालले निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए ।
