कामना सेवा विकास बैंकलाई अविमोच्य अग्राधिकार सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको लागि अनुमति दिएको छ । अंकित मूल्य १ सयका दरले ३५ लाख कित्ता सेयर निष्कासनको लागि अनुमति प्रदान गरिएको हो ।
विकास बैंकको १८ औं वार्षिक साधारणसभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति लिई धितोपत्र बोर्ड समक्ष स्वीकृतिका लागि पेश गरेकोमा बोर्डले स्वीकृति दिएको हो ।
उक्त अग्राधिकार सेयर जारी गरेसँगै विकास बैंकको पूँजीगत संरचना थप सुदृढ भई पूँजी कोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ ।
हालको बजारमा तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्तालाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्यम हुनेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पूँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।
