क्षतिग्रस्त संरचनाहरूकाे पुन:निर्माण गर्न ४ अर्ब बढीको सिफारिस, ९ सिँचाई आयोजना सूचीकृत
काठमाडौँ । गत असोजमा बेमौसमी वर्षाको कारण क्षति भएको ऊर्जा र सिँचाई क्षेत्रमा पुनःनिर्माण गर्न करिब ४ अर्ब ८ करोड लाग्ने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत असोजमा गएको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका ऊर्जा तथा सिँचाइ क्षेत्रका संरचनाहरूको पुनर्निर्माणका लागि सरकारसमक्ष ४ अर्ब रुपैयाँभन्दा बढीको बजेट सिफारिस गरेको हो ।
प्राधिकरणले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका विभिन्न आयोजना तथा संरचनाहरूमा पुगेको क्षतिको विवरण विश्लेषण गर्दै पुन निर्माणको लागि कुल ४ अर्ब ७ करोड ९३ लाख ४५ हजार रुपैयाँ बराबरको स्रोत सुनिश्चितता गरिदिन अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सिफारिस गरिएको उक्त रकम जलस्रोत तथा सिँचाइ क्षेत्र, जल तथा मौसम विज्ञान विभाग र हाइड्रोपावर क्षेत्रमा भएको क्षतिको मर्मत सम्भारमा खर्च गरिनेछ ।
महतका अनुसार विशेष गरी सिँचाइ विभाग अन्तर्गतका विभिन्न ९ वटा आयोजनाहरूको मर्मतका लागि मात्रै ३३ करोड ४६ लाख १० हजार रुपैयाँ अनुमान गरिएको छ ।
बाढीले तराई र पहाडका महत्त्वपूर्ण सिँचाइ प्रणालीमा क्षति पुर्याएकाले किसानहरूलाई सिँचाइको अभाव नहोस् भन्नका लागि यी आयोजनाहरूको मर्मतलाई प्राथमिकतामा राखिएको छ ।
