भयावह रूपमा बढ्दै बैंकिङ कसुर : ४ महिनामा १,०६७ मुद्दा, ३ अर्बको दाबी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनासम्म काठमाडौं जिल्ला प्रहरी परिसरमा ३ अर्ब ७७ करोड ९३ लाख १४ हजार ३६४ रुपैयाँ माग दाबीसहितको बैंकिङ कसुरको निवेदन परेको छ ।
बैंकिङ कसुरका १ हजार ६७ निवेदन दर्ता हुँदा १५० जना पक्राउ परेको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
उनकाअनुसार विभिन्न चेक बाउन्स मुद्दामा गरेर करिब ३ अर्ब अर्थात २ अर्ब ९७ करोड ३३ लाख ९५ हजार ७७६ रुपैयाँ माग दाबीको निवेदन परेको हो ।
अनलाइन ठगीमा परेको भन्दै ७ वटा निवेदन दर्ता भएको प्रवक्ता भट्टराईले जानकारी दिए । सोही मुद्दामा २५ जना पक्राउ परेका र १० करोड ९ लाख ९४ हजार ९४७ रुपैयाँसहित मागदाबीको निवेदन परेको छ ।
प्रहरी परिसरका अनुसार अनुचित लेनदेन अर्थात मिटर ब्याज सम्बन्धी ५ वटा निवेदन दर्ता भएको र ३ जना पक्राउ पर्दा १ करोड ५७ लाख ९५ हजार मागदाबीसहितको निवेदन परेको थियो ।
त्यसैगरी, विभिन्न कसुरको ठगीमा १८० वटा निवेदन दर्ता भएको र १०६ जना पक्राउ परेको प्रवक्ता भट्टराईले जानकारी दिए । सोही मुद्दामा ६८ करोड ९१ लाख २८ हजार ६४१ रुपैयाँ मागदाबीसहितको निवेदन परेको उनले जानकारी गरे ।
