आइतबार २१ मंसिर, २०८२

एमसीसीको धानखोला सडकको ठेक्कामा समस्या, ७९ करोड महँगो ठेकेदारसँग वार्ताको तयारी

एमसीसीको धानखोला सडकको ठेक्कामा समस्या, ७९ करोड महँगो ठेकेदारसँग वार्ताको तयारी

काठमाडौँ । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत धानखोला लमही सडकको ठेक्कामा गडबडी देखिएको छ । आयोजनाको कार्यान्वयन गर्ने संस्था मिलिनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) ले कार्यान्वयनमा लैजान लागेको उक्त परियोजनामा समस्या देखिएको हो । 

एमसीएले उक्त परियोजना अन्तर्गतका लागि आह्वान गरेको आवेदनका लागि चार वटा कम्पनीले आवेदन दिएका थिए ।  उक्त आवेदनमध्ये दुई कम्पनीका बोलपत्र प्राविधिक रूपमा योग्य देखिएका थिए । योग्य देखिएका कम्पनीहरूमा शर्मा कुमार जेभी र कालिका कन्स्ट्रक्सन रहेका छन् । 

यसमध्ये शर्मा कुमार जेभीले उक्त सडकका लागि २०.०७ मिलियन डलरको लागतसहित टेन्डर हालेको थियो । त्यस्तै कालिका कन्स्ट्रक्सनले २५.६८ मिलियन डलरको लागत बोलकबोल गरेको थियो । 

सार्वजनिक खरिदसम्बन्धी कानुन अनुसार प्राविधिक बोलपत्रमा योग्य देखिएका बोलपत्रकर्ताले पेस गरेका आवेदनमध्ये कम मूल्य कबोल गरेका कम्पनीको प्रस्तावलाई सोझै स्वीकृत गर्नुपर्ने हो । तर एमसीए महँगो ठेक्का स्वीकृत गर्न सक्नेगरी योग्य बोलपत्रदातासँग वार्ता गर्ने जनाएको छ । 

प्राविधिक रूपमा योग्य देखिएका दुई बोलपत्रकर्ताले पेस गरेको आर्थिक प्रस्तावबिच ५.६१ मिलियन डलर अर्थात् झण्डै ७९ करोड रुपैयाँ बराबरको लागत फरक छ । महँगो ठेक्का स्वीकृत गर्ने हो भने आयोजनालाई सो बराबरको बढी नोक्सानी हुन्छ । 

यो भ्रष्टाचारको विषय भए पनि एमसीसी कम्प्याक्ट परियोजनामा भएको द्विपक्षीय सम्झौताको आडमा महँगो लागत रहेको बोलपत्रलाई स्वीकृत गर्ने चलखेल गरिएको स्रोतको भनाइ छ ।