आइतबार २१ मंसिर, २०८२

जीवन बीमा कम्पनीको सेयर बजारमा लगानी ५४ अर्बमाथि

जीवन बीमा कम्पनीको सेयर बजारमा लगानी ५४ अर्बमाथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालका जीवन बीमा कम्पनीहरूले सेयर बजारमा कुल ५४ अर्ब ३ करोड ५४ लाख रुपैयाँ लगानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार, जीनव लाइफ बीमा कम्पनीले सूचीकृत कम्पनीको साधारण सेयरमा ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ र अन्य संस्थापक सेयरमा १६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ।

यस अवधिमा १३ वटा बीमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ लगानी गरेका छन् भने मेट लाइफ इन्स्योरेन्सले कुनै लगानी गरेको छैन।

सबैभन्दा बढी लगानी हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब ३९ करोड ८४ लाख रुपैयाँ लगानी गर्दै गरेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीले २० करोड ६४ लाख रुपैयाँ लगानी गरेर सबैभन्दा कम देखिएको छ। दोस्रो उच्च लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ६ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्स ३ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ।

बैंक र वित्तीय संस्थामा बीमा कम्पनीहरूको लगानीमा ११ कम्पनीले संस्थापक सेयरमा १६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। यसमा एशियन लाइफले सबैभन्दा बढी ३ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ, नेपाल लाइफले दोस्रो उच्च ३ अर्ब ३ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ भने सबैभन्दा कम लगानी आइएमई लाइफको १५ करोड ८१ लाख रुपैयाँ रहेको छ। बैंकले दिने ब्याज घट्दै गएपछि बीमा कम्पनीले संस्थापक सेयरमा लगानी गर्दा प्रतिफल कम हुने भए पनि कतिपय कम्पनीले राम्रो लगानी गरेको देखिन्छ।

यस अवधिमा बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा ७१ अर्ब १ करोड ६ लाख, सूचीकृत कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा ११ अर्ब २७ करोड ८७ लाख र इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशानुसार जीवन बीमा कम्पनीहरूले चुक्ता पुँजीको १५ प्रतिशतसम्म संस्थापक वा सर्वसाधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था रहेको छ।