सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्ने भएको छ । शुक्रबार भवन निर्माणको शिलान्यास गरिएको हो ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
उक्त भवन बनाउनका लागि यो वर्ष प्रदेश सरकारले १ करोड ५० लाख रकम विनियोजन गरेको छ । मानव सेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा सामुदायिक सहभागिता र सहयोगका लागि मुख्यमन्त्री कँडेलले आग्रह गरे ।
मानव सेवा स्थल निर्माणले सामाजिक सदभाव र एकता कायम राख्ने बताए । सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोल अनुरूप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताए ।
सरकारी घोषणालाई कार्यान्वयन गर्न एउटा मात्र संस्थामा भर पर्न नहुने प्रति सचेत भएको बताए । मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा. नवराज केसीले भवन निर्माणको लागि महायज्ञ मार्फत दान सङ्कलन गरिएको स्मरण गर्दै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए ।
