सोमबार २२ मंसिर, २०८२

रणवीरको फिल्म ‘धुरन्धर’ ३ दिनमै १०० करोड क्लबमा

रणवीरको फिल्म ‘धुरन्धर’ ३ दिनमै १०० करोड क्लबमा

मुम्बई । अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । रिलिजको पहिलो र दोस्रो दिन राम्रो व्यापार गरेको यो फिल्म तेस्रो दिन १०० करोड क्लबमा प्रवेश गर्न सफल भएको हो । 

फिल्मले बक्स अफिसमा पहिलो दिन २८.६० करोड (भारु) को ओपनिङ गरेको थियो भने दोस्रो दिन ३१ करोड कमाउन सफल भयो । तेस्रो दिन (आइतबार) फिल्मले ४३ करोड कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाइ १०३ करोड पुगेको छ । फिल्म प्रदर्शनको तीन दिनमै १०० करोड क्लबमा प्रवेश गर्न सफल भएको हो ।

‘धुरन्धर’ मार्फत रणवीरले करिब दुई वर्षपछि ठुलो पर्दामा कमब्याक गरेका छन् । त्यसैले उनका लागि यो फिल्म निकै महत्त्वपूर्ण छ । अहिलेको कमाइ हेर्दा ‘धुरन्धर’ रणवीरको करियरकै सबैभन्दा ठुलो फिल्म बन्ने देखिन्छ । पहिलो दिन २८.६० करोडको कमाइ गरेर यो फिल्म रणवीरका लागि सबैभन्दा ठुलो ओपनर बनिसकेको छ ।

आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ । फिल्ममा रणवीरका अलावा सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन् ।